दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन निर्देशन
गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको जनाएको छ ।
यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका-२, खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उक्त घटनाप्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायलाई त्यसको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको छ ।
घटनाको वास्तविक सत्यतथ्य जानकारी तथा खोज, उद्धारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ४४ नम्बर गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ ।