थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीलाई नगदसहित पुरस्कृत
३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार सरकारले नगदसहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन् ।
२३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ मा भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई सरकारले जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।
यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए ।