असार ३१ गतेदेखि ऋणपत्र विक्री खुला गर्दै माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेदेखि ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको “८.५५ माछापुच्छ्रे डिबेन्चर २०८७” नामको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन १७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर सिङ्गल ए माइनस एटदरेट’ रेटिङ्ग प्रदान गरेको छ।