आफ्नो पक्षमा निर्णय गराउनका लागि ओलीले अदालतलाई धम्की दिइरहेको देउवाको दावी


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको दाबी गरेका छन् । विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै देउवाले संसद् विघटनलाई सदर गराउन ओली सक्रिय बनेको भएपनि अदालतले स्वतन्त्र रूपमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले कार्यकारी जहिलेपनि तानशाही प्रवृत्तिको हुने पनि बताए । तर, कार्यकारीको तानशाही प्रवृत्तिलाई न्यायालयले मात्र रोक्नसक्ने देउवाको भनाइ छ ।

“उहाँ (प्रधानमन्त्री)ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद् पनि कहिलेकाहीँ ठप्प गरिदिनसक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय ।
त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनैपनि न्यायाधिशहरू डराउनुहुने छैन,” देउवाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *