लुम्बिनी,गण्डकी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
काठमाडौंमा विहान मौसम खुले पनि केही समयपछि बदली हुने छ । र, पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । यद्यपि काठमाडौंमा भारी वर्षाको सम्भावना भने नरहेको उनले जानकारी दिए ।