बाढी-पहिरोबाट तहसनहस हेलम्बु गाउँपालिका
असार १ गतेदेखिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र १५ जनाको ज्यान गएको छ। गाउँपालिका भित्रका अन्य २३ जना अझै बेपत्ता छन्। मेलम्ची खानेपानी आयोजनाका थप आठ कामदार समेत बेपत्ता छन्।
गाउँकार्यपालिकाको कार्यालयले शनिबार साँझसम्मको प्रारम्भिक जनधनको क्षतिको विवरण सार्वजनिक गरेको हो। हेलम्बु गाउँपालिका सेमेसिदाङ हिमान मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोले गाउँपालिकाको वडा नम्बर १, २ र ६ मा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
सार्वजनिक जानकारी अनुसार बाढी पहिरोमा परी ज्यान गुमाउनेमा वडा नम्बर १ मा ६ जना छन्। यस्तै, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ६ मा ४ जना र वडा नम्बर ७ मा १ जनाको ज्यान गएको छ।
गाउँपालिकाका अनुसार मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ३ भारतीय, ३ चिनियाँ र २ नेपाली कामदार अझै हराइरहेका छन्।यस्तै बाढीका कारण एक मोटरेबलसहित तीन वटा पुल बनाएको छ। हेलम्बु २ मा रहेको चनौटेस्थित रातो पुल उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।
बाढीका कारण गाउँपालिकाभित्रका ६ वटा झोलुङ्गे पुल बगाएको छ।यस्तै, काठमाडौंबाट मेलम्ची हुँदै हेलम्बु जाने सडकमा पनि विभिन्न स्थानमा बाढीले क्षति पु¥याएको छ। भूमेश्वरी तितेखानी खण्ड र किउल–तिम्बु–अम्बाथाङ सडकमा पनि बाढीले क्षति पुर्याएको छ।
चनौटै बजार क्षेत्रसहित करिब दुई सय घरहरुमा बाढीले क्षति पुर्याएको छ। विभिन्न बस्तीबाट दुई सय हाराहारीमै घर परिवार विस्थापित समेत भएका छन्। इलाका प्रहरी कार्यालयको भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ।