ओली सच्चिएर आए मात्र सकारात्मक परिणाम आउँछ : माधव नेपाल


पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत बाटो परित्याग गरे पार्टी एकताको सन्दर्भमा सकारात्मक परिणाम आउने स्पष्ट पारेका छन् । हामीले यसअघि लिखित रुपमा अगाडि सारेका कुराहरूको विश्वसनीय रुपमा सम्बोधन गर्दै इमानदारीका साथ वार्ता र सहमतिको बाटो अवलम्बन गरिए सकारात्मक परिणाम आउन सक्छ’, नेपालले सोमबार राति जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर उहाँ (ओली)को वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ ।’

ओलीले एमालेलाई एकता कायम राख्न आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसको बुँदागत जवाफ दिने क्रममा नेपालले यस्तो बताएका हुन् ।नेपालले ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण्ण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको ठहर गरेका छन् ।
‘पार्टी विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं’, नेपालको वक्तव्यमा भनिएको छ ।

ओली सच्चिएर आउने हो भने आफूहरु सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहेको नेपालले दोहोर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *