पार्टी एकताको पक्षमा ओली इमानदार नरहेको निष्कर्ष
काठमाडौँ। नेकपा एमालेको नेपाल-खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भनेर लामो समय पर्खिनुको पनि अर्थ नहुने भनाइ वार्ता टोलीका सदस्यहरूको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल-खनाल पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा वार्ता टोलीका सदस्यहरूले वार्ताका विषयमा जानकारी गराएका थिए ।पार्टी एकताका लागि सक्रिय नेता सुरेन्द्र पाण्डेले एकताका निम्ति आफ्नातर्फबाट इमानदार पहल भइरहेको बताए । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अर्थात नेकपा माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको अवस्थामा फर्काउनु पर्ने अडान छोड्नु नहुने बताए ।
पाण्डेका अनुसार अध्यक्ष ओली वार्ताका लागि इमानदार देखिएका छैनन् र पार्टी एकतापूर्वको अवस्थामा फर्किन पनि तयार छैनन् । बैठकमा सहभागी एक नेताका अनुसार वार्ता टोलीका अन्य सदस्यहरूको भनाइ पनि पाण्डेकै जस्तो थियो ।