जून २० सम्म थपियो,जापानमा स्वास्थ्य सङ्कटकाल
जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङ्कटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड-१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् ।
सङ्कटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरु टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । सङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो । जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड–१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो ।