दुई कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बिहीवारदेखि दुई कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ४१ हजार ८९६ कित्ता शेयर लिलामीमा विक्री खुला भएको हो । दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
नेशनल माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ५१७ र महुली लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ८०० रुपैयाँ तोकिएको छ ।
यी शेयर खरिदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यी शेयर खरिदका लागि जेठ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
नेशनल लाईफ इन्स्योरेन्सको शेयर खरिदका लागि न्यूनतम १०० कित्ता र महुली लघुवित्तको शेयर खरिदका लागि न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम कित्ताका लागि भने कुनै हद लाग्नेछैन् ।
दुबै कम्पनीको यो शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा जेठ १३ गतेपछि प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् ।