नेपाल खनालसहित यी ११ नेतालाई एमालेले साधरण सदस्यबाट हटायो, को को परे ?
नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई कारवाही गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता र प्रतिनिधि सभाका निवर्तमान सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो ।
नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई कारवाही गरिएको छपार्टी सदस्यबाटै निष्कासन गरिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् । पार्टीविरुद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाटै निष्कासन गर्ने निर्णय गरिएको छ ।
पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत्र १० गते ६ महिनाका लागि निलम्बन गरिएको थियो । तर पार्टी एकता कायम राख्ने भन्दै वैशाख ३० गते कारवाही फिर्ता लिइएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’विरुद्ध उम्मेदवार खडा गरेको र मतदान गराएको आरोप नेपाल पक्षमाथि लगाइएको छ ।