फुटबाट जोगियो जसपा, महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटबाट जोगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत, लुम्बिनी प्रदेशमा सांसद कारवाही, संसदीय दलको नेता चयन प्रकरणले विभाजनउन्मुख जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच भएका पछिल्ला वार्तामा पार्टीलाई एकतावद्ध बनाउने सहमति भएको हो।

जसपामा दुई समूह बिच धुव्रिकरण भने प्रतिनिधिसभा विघटनपछि नै देखिएको थियो। करिब ६ महिनापछि ठाकुर र यादव एक ठाउँमा उभिएका हुन्।

सहमति जुटेसँगै मंगलवार ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा पार्टीभित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गर्ने उल्लेख छ।

त्यसैगरी, दुई अध्यक्षले पार्टी तत्काल सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने, पार्टीको नीति र निर्णय यथावत कायम रहने सहमति गरेका छन्। तर, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुनासक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने दुई अध्यक्षको निष्कर्ष छ।

दुई अध्यक्ष बिच समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन, भातृ संगठन लगायत संगठनहरूको समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकतावद्ध, अनुशासित एवम् सदृढ़ पार्टी संगठन निर्माण गर्ने सहमति पनि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *