अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको महामारीमा अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही गर्ने भएको छ । अनुगमनका क्रममा मन्त्रालयको निर्णयविपरीत अक्सिजन खपत हुने उद्योगहरु चलाइएको पाइएकाले कारबाहीको चेतावनी दिएको हो ।
त्यस्तै, अनुगमनका क्रममा खाली सिलिन्डर सप्लायर्स तथा उद्योगमा भन्डारण गरेर राखिएको पाइएकाले तुरुन्त अक्सिजन भरी अस्पतालहरुमा पठाउन पनि निर्देशन दिइएको छ ।कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर अपर्याप्त भइरहेको अवस्थामा अक्सिजन खपत गर्ने उद्योगहरु बन्द गर्न मन्त्रालयले पटक-पटक अनुरोध गर्दै आएको छ ।