नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला
काठमाडौं । नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको बैंकले जनाएको छ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ को अवधि १० वर्षको रहने छ । सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने विज्ञप्तीमा उल्लेख छ ।