कोभिड नियन्त्रणमा परिचालन हुन नेता कार्यकर्तालाई एमालेको निर्देशन


नेकपा एमालेले सिङ्गो पार्टी पंक्तिलाई कोभिड-१९ विरुद्धको लडाइँमा केन्द्रीत हुन निर्देशन दिएको छ ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड-१९ को संक्रमण बढीरहेको भन्दै यस विरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।
बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै कमिटीहरूलाई कोभिड–१९ विरुद्धको लडाइँमा क्वारेन्टीनहरुको निर्माण गर्न, गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्न, बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहयोग गर्न स्थानीय तह र जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग मिलेर अभियान चलाउन निर्देशन दिनुभएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभएको छ । अब छिटो छिटो आयोजक कमिटीको बैठक बस्न गाह्रो पर्ने भएको हुनाले प्रत्येक केन्द्रीय सदस्यहरु र मातहतका कमिटीहरुले प्रदेश कमिटी, जिल्ला कमिटी र अन्य मातहत कमिटीहरु, जनसङ्गठनहरु, जनप्रतिनिधिहरु सबैले जिल्ला जिल्लामा डेस्कहरु राख्ने, विदेशबाट आएका या संक्रमणका सम्भाव्य जोखिममा रहेका साथीहरुलाई क्वारेन्टीनमा राख्ने, क्वारेन्टीनहरु बनाउनको निम्ति स्थानीय तहहरुसँग समन्वय गर्ने, गाउँगाउँमा जागरण अभियानहरु सञ्चालन गर्ने, कोही बिरामी हुनुभयो भने उहाँहरुलाई नजिकको अस्पताल सम्म पुर्‍याउनका निम्ति मद्दत गर्ने र यसमा चाहिं स्थानीय तह र जिल्लाको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग मिलेर गर्ने अभियान चलाउन सिङ्गो पंक्तिलाई परिचालन हुनको निम्ति विशेष निर्देशन दिने प्रयोजनको लागि आजको बैठक आयोजना गरिएको थियो र प्रधानमन्त्रीले तद्नुरुप नै निर्देशन दिनुभएको छ । साथीहरुलाई तद्नुरुप नै खट्नका लागि भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *