कोरोनाको दोस्रो लहर बढ्दै गर्दा स्वास्थ्य मन्त्रालयको‘मोबिलिटी रेस्ट्रिक्सन’मा जोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि ‘मोबिलिटी रेस्ट्रिक्सन’ (आवातजावतमा कडाइ) मा जोड दिएको छ । नेपालमा कोरोनाको दोस्रो लहर बढ्दै गर्दा मन्त्रालयले संक्रमण नियन्त्रण र रोकथामका लागि ‘मोबिलिटी रेस्ट्रिक्सनमा जोड दिएको हो ।
विभिन्न नाममा भिडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालनामा समेत लापरबाही भइरहेको सन्दर्भमा मोबिलिटी रेस्ट्रिक्सन उपयुक्त विकल्प हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार मन्त्रालय विगत १ महिनादेखि नै सो मोडलको पक्षमा रहेको छ भने सोही अनुसार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पनि सुझाइएको थियो । जसमा ५ जना भन्दा बढी भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरुमा कडाइ गर्नेजस्ता विषय समेटिएका थिए ।
मन्त्रालयले कोरोनाको सम्भावित फैलावटलाई रोक्न समयमै सीसीएमसीलाई सिफारिस गरेपनि निर्णयमा ढिलाइ गएको गौतमले गुनासो गरे । ‘विद्यालय समयमै बन्द गर्नुपर्ने थियो, भीडभाड हुने ठाउँमा समयमा सजक हुनुपर्ने थियो’, उनको भनाइ छ, ‘अहिले संक्रमण फैलिँदै गएको छ, समयमा मोबिलिटी रेस्ट्रिक्सन भइदिएको भए केही सहज हुन्थ्यो कि ।
’उनले लकडाउन नै कोरोना रोकथामको विकल्प नभएको भन्दै स्वास्थ्य मापदण्डको पालनासहित जावतजावतमा कडाइ गरिनुपर्नेमा जोड दिए ।