केही मान्छेले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए
प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।
शनिवार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताए ।
संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताए । अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले बताए ।
‘एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन् । प्रतिगमन भयो भनेर । अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरू छन् । के हो प्रतिगमन भनेको ? यिनीहरूले परिवर्तन नै बुझेको रहेनछन् कि क्या हो ?