कोरोनाविरुद्धको दोस्रो डोज खोप वैशाख ७ देखि
काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको पहिलो अभियानअन्तर्गत पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ गतेदेखि दिने भएको छ ।
पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को सोमबारको बैठकले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको हो । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि सात लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा। झलक शर्मा गौतमले बताए ।