ज्योतिषशास्त्रको उत्पति सम्बन्धी रोचक तथ्य
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।
वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्।त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।
ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ।भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ।
यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो।
पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।