मार्च महिनासम्ममा करिब १५ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो।
वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्। जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, तीन हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन्।
तुलनात्मक रुपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत कम हो। सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए। यस्तै, सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कम हो। सन् २०१९ मा एक लाख २७ हजार ३१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार ६५८ पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट एक हजार ७०३ पर्यटक आएका छन्। चीनबाट एक हजार २०७ पर्यटक आएका छन्। बेलायतबाट ६६५ र बङ्गलादेशबाट ५६८ पर्यटक नेपाल आएका छन्।