केपी शर्मा ओली, प्रचण्डको सबभन्दा ठूलो ‘मतियार’ : माधवकुमार नेपाल
काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उल्टै प्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिएका छन् ।
पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले पत्र आएको जानकारी दिए । पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने खालको रहेको बताएका छन् ।पत्रमा नेपालले ओलीलाई प्रचण्डको मतियार भएको प्रति आरोप लगाएका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन,’ उनले भने ।
केन्द्रीय कमिटी बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न नेपालले ओलीलाई पत्रमा गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप नेपालको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको आरोप पनि नेपालले लगाएका छन् ।
पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो,’ नेपालले ओलीलाई पत्रमा प्रश्न गरेका छन् ।
फागुन २८ गतेको निर्णय बदर गर्न किन चाहनु भएन भन्ने प्रश्न पनि नेपालले गरेका छन् ।