रूरू जलविद्युतले आईपीओ विक्री गर्ने
काठमाडौं । आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रूरू जलविद्युत परियोजनाले चैत २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको हो ।
अब सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ । कुल कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
स्थानियमा न्यूनतम अंकित मूल्य रू १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य रू १०० मा रू २० प्रिमियम थप गरी प्रतिकित्ता रू १२ मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ ।
माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू।४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो ।