निफ्राको रेकर्ड तोड्यो महिला लघुवित्तको आईपीओले
महिला लघुवित्तको आईपिओमा २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको छ । कम्पनीको आइपीओमा बुधबार साँझ ५ बजे (आवेदन दिने अन्तिम समय) सम्ममा १५ लाख ८० हजार ७ सय ८१जना आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने प्रावधान थियो । माघ ३० गते सार्वजनिक बिदा परे पनि आईपिओ बिक्रि खुला भएको थियो । सार्वजनिक विदाको दिन पनि आईपिओको बिक्रि खुला भएको यो नै पहिलो पटक हो ।
कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक तोकेको थियो । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ ।
कम्पनीको आईपिओले निफ्राको रेकर्ड तोडेको छ । निफ्राको आईपिओमा १४ लाख ८१ हजार २ सय ८४ जनाको आवेदन परेको थियो । महिला लघुवित्तको आईपिओले यो रेकडै ब्रेक गरेको हो ।