नेपाली कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव
नेपाली काँग्रेसले आगामी भदौ ७,८,९ र १० गते काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । बुधबार काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको प्रस्ताव गरेका हुन् ।
यसैगरी गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड-१९ सङ्क्रमणका कारण कार्यतालिका प्रभावित भएको थियो ।