पत्रकारसंग विचार र दक्षता नभए नागरिक समाज बन्छन् : उपप्रधानमन्त्री


पोखरा । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले पोखरामा पत्रकारहरू माझ नागरिक समाजमाथि व्यंग्य हानेका छन् ।

कामचलाउ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै त्यसको निरन्तर विरोध तथा प्रदर्शन भइरहेको छ । संसद् पुनस्स्थापनाको मुद्दा अदालतमा विचाराधीन छ भने त्यसको पक्षमा नेकपाकै अर्को प्रचण्ड-माधव नेपाल समूहसहित प्रतिपक्षी दलहरू र नागरिक समाज सडकमा ओलीको कदमलाई प्रतिगमन भन्दै विरोध र प्रदर्शनमा उत्रिएका छन् ।
ओलीनिकट पत्रकारको संस्था प्रेस संगठन नेपालको कार्यक्रममा उनले पत्रकारमा दलनिकट विचार र पेसागत दक्षता दुवै नहुँदा नागरिक समाजमा परिणत हुने बताएका हुन् । उनले भने, “पेसागत दक्षता प्रदर्शन गर्नैपर्छ । यो आलोचना गरेजस्तो लाग्ला तर दक्षता हुनैपर्छ । दक्षता नहुने हो भने यो क्षेत्रमा अगाडि बढ्न सकिँदैन । र विचारप्रतिको प्रतिबद्धता पनि हुनुपर्‍यो । भएन भने बिग्रिन्छ ।
विचार र दक्षतामध्ये एकमात्रै क्षमता भएको व्यक्ति अन्तिममा नागरिक समाजमा परिणत हुने उनले बताए । “कोही विचार बोकेको हो भन्छन्, पेसागत दक्षता हुँदैन, कोही पेसागत दक्षता मसित छ, मैले विकास गरेँ भन्छन्, विचार छोड्दैछोड्दै जान्छन र पछि नागरिक समाजमा परिणत हुन्छन्,” पोखरेलले भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *