नारायणहिटी सडकमा माघ २३ गते नेकपा जनसभा
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ ।
काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।
सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।