खानेतेलको मूल्य बृद्धिबारे अनुसन्धान हुने
काठमाडौं। बजारमा पछिल्लो समय खाने तेलको मूल्य आकाशिएको छ। २ महिनाअघिको तेलको मूल्यसँग अहिले तुलना गर्दा प्रतिलिटर ५० रुपैयाँसम्म वृद्धि भएको पाइएको छ। तोरीको तेलमा प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म बढेको छ। सनफ्लावरको तेल पनि प्रतिलिटर ४० रुपैयाँकै हाराहारीमा मूल्य वृद्धि भएको छ।
भटमासको तेल पनि प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म बढेको छ। तेल उत्पादन गर्ने उद्योगीले भने खाने तेलको उत्पादन गर्ने कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले बजारमा तेलको मूल्य वृद्धि भएको बताउँदै आएका छन्।
तेलको मूल्य बढाएर बिक्री वितरण गरेको पुष्टि भएसँगै बारका अन्नपूर्णा भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ६ लाख जरिवाना गरेको हो। यी उद्योगहरुले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२)(क) विपरीत खाने तेल बिक्री वितरण गरेको पाइएकोले जरिवाना गरिएको विभागले उल्लेख गरेको छ। तेलको मूल्य अत्यधिक चर्किएकाले यसमा थप अनुसन्धान हुने विभाग भनाइ छ।