बागलुङ-कुश्मा झोलुङ्गे पुलको उत्कृष्ट नाम दिनेलाई २५ हजार पुरस्कार
बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ९५६७ मि० झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको उक्त झोलुङ्गे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक/व्यक्तिलाई पुरस्कारस्वरुप २५ हजार प्रदान गरिने घोषणा गरेका हुन्।
“प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं”, उनले भने । विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ ।
विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुङ्गे पुललाई राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो । “संस्कृति, इतिहास, कालिगण्डकी नदीको सभ्यता नाममा झल्कोस्, जनबोलीमा पनि सजिलै स्थापित हुने खालको होस् भन्ने हाम्रो अपेक्षा छ”, उनले भने ।
नामकरण गर्दा त्यसको भाव र सौन्दर्य पक्षलाई पनि मूल्याङ्कनमा मापन गरिने नगरपालिकाले जनाएको छ । ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुङ्गे पुलको विसं २०७५ चैत ९ गते शिलान्यास गरी निर्माण थालिएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा पुल निर्माण गरिएको हो ।