केपी ओलीसँग मिल्ने सम्भावना कतै छैन : माधव नेपाल
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको बताएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् ।
संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सच्याउनुपर्ने बताए । संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने उनको भनाइ छ । बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नदिएको उनले स्पष्ट पारे ।