बंगबन्धु म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण
बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एसियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी ३ घण्टा ४६ सेकेण्डमा पूरा गरिन् । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन् ।
गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् ।
भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध छिन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौथो भए । बोगटीले निर्धारित दूरी २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा चोट लागेपछि उनी पछि परेका प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए ।
उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी २ घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश २ घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए । रासस