संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने,सुनुवाई अब एक सातापछि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई एक साताका लागि सरेको छ। सुनुवाई संवैधानिक इजलाशमा नै २९ गतेबाट फेरि जारी रहने छ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा सहितको संवैधानिक इजलाशले मुद्दाको सुनुवाई २९ गतेका लागि तोकेको हो। साथै राणासहितको बेन्चमा रहेका न्यायाधीश हरिकृष्ण कार्की माथि निवेदकहरुले प्रश्न गरेपछि अर्को इजलाशबाट उनले मुद्दा नहेर्ने भएका छन्।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै दर्जन रिट अदालतमा परेको छ। यसअघि सर्वोच्चमा यसबारे बहस भएको थियो र सम्बन्धित पक्षसँग सर्वोच्चले जवाफसमेत मागेको थियो।
वरिष्ठ अधिवक्ताहरुको प्रश्नपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।
आजको सुनुवाइमा वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधिसभा विघटनको मुद्दा वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए ।