रास्वपा राष्ट्रिय भेला,असोज १ र २ गते


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यही असोज १ र २ गते पहिलो राष्ट्रिय भेला गर्दैछ । गत साउन ३० गते केन्द्रीय कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय भेलाको टुङ्गो लगाएको थियो ।

रास्वपाले पहिलो पटक यति ठूलो भेला गर्न लागेको हो । यसलाई ऐतिहासिक भेलाका रूपमा लिइएको रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले बताइन् ।राष्ट्रिय भेलापूर्व पार्टीले सात प्रदेशमा भेला गरेको थियो । सबै प्रदेशबाट सुझाव प्राप्त भइसकेकाले राष्ट्रिय भेलाले रास्वपालाई अझ विस्तार र सुदृढ बनाउँदै लैजाने सहमहामन्त्री श्रेष्ठ बताउँछिन् । यस भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरिसकेको छ ।

भेलाको सबै तयारी पूरा भइसकेको रास्वपाले जनाएको छ । भेलामा देशभरबाट १४ सय प्रतिनिधि सहभागी हुने अनुमान छ । त्यसमा अझै थपिन सक्ने पार्टी उपसभापति डोलप्रसाद अर्याल डीपी बताउँछन् ।

‘यो हाम्रो पहिलो राष्ट्रिय भेला हो । यसबाट सिकाई पनि हुन्छ । पार्टीले सुधार्नुपर्ने पक्ष र आगामी दिनका कदमबारे बृहत् छलफल हुन्छ’, खबरहबसँग अर्यालले भने, ‘यो जटिल परिस्थितिमा भेला गरेर पार्टीलाई अझ जनमैत्री बनाउने प्रयत्न गरिरहेका छौँ ।’

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हुने दुई दिने भेलामा देशभरका सहभागी व्यवस्थापनबारे तयारी पूरा भएको रास्वपा सांसद तथा पार्टी केन्द्रीय सदस्य गणेश पराजुलीले बताए ।

राष्ट्रिय भेला गरेर पार्टीले २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्न तयारी गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *