मानवअधिकार उल्लंघनको समीक्षा गर्न राष्ट्रसंघको टोली बंगलादेशमा


शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लंघनको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको एक टोली बिहीबार बंगलादेश आइपुगेको छ ।

एक महिनाभन्दा बढी चलेको विद्यार्थी आन्दोलनमा व्यापक जनसहभागिता देखिएपछि यही अगस्ट ५ मा पूर्वप्रधानमन्त्री हसिना हेलिकोप्टरमार्फत भागेर छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली गएकी थिइन् । उनको राजीनामाको जानकारी बंगलादेशका सेना प्रमुखले दिँदै देशले छिट्टै अन्तरिम सरकार गठन गरिने बताएका थिए ।

आन्दोलनका क्रममा ४५० जनाभन्दा बढीको मृत्यु भएको थियो । अधिकांशले प्रहरीको गोली लागी वा बल प्रयोगका कारण ज्यान गुमाएका थिए ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गएको साता एक प्रारम्भिक प्रतिवेदनमा प्रदर्शनका क्रममा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो संकेत देखिएको र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको जनाएको थियो ।

“कथित उल्लंघनमा गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, बलपूर्वक बेपत्ता पार्ने, यातना र दुर्व्यवहारका घटना समेत समावेश छन्,” विज्ञप्तिमा भनिएको छ ।मानवअधिकार कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब बंगलादेशमा उच्चस्तरीय समूहले ‘मानवअधिकार उल्लंघनको अनुसन्धानको खाका’ तयार गर्नेछ ।”

संयुक्त राष्ट्रसंघको ढाकास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छलफलका आधारमा आगामी हप्ताहरूमा अनुसन्धानका लागि छुट्टै तथ्य पत्ता लगाउने टोली परिचालन गर्न सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *