मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन


प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउनका लागि आफूले प्रधानमन्त्री पद सम्हाल्नुपरेको बताएका छन् ।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाले काम गर्नुपर्ने बताए ।

उनले स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने अवस्था बनाउने पनि बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन उनले जोड दिए ।

उनले आफूले झन्डा हल्लाउन मात्रै सरकारको नेतृत्व नगरेको पनि बताएका छन् । ‘देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, उनले भने, ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ ।’

उनले सरकारी लगानीका कुनै पनि स्टार्ट असफल हुन नहुने पनि बताए । ‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ’, उनले भने ।

ओलीले स्टार्ट अप उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *