दुई नेताले मध्यराति गरेको सहीले केही हुनेवाला छैन


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने बताएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेका दुई ठूला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको अध्यक्ष नेपालको भनाइ थियो । उनले संविधानले के दिएको र के नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताए ।‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ ।’ उनले जनता र देशका निम्ति समर्पित भएर रूपान्तर हुन नसक्नेले अरूलाई रूपान्तरण गर भन्ने हक नराख्ने बताए ।

‘जबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, अध्यक्ष नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताए । नेपालका दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *