नौ महिनामा २८६ वटा उद्योग दर्ता, एक खर्ब ६५ अर्ब लगानी प्रस्ताव


चालु आर्थिक वर्षको नौ महिनामा २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालू आवको साउनदेखि चैत्रसम्मको अवधिमा उक्त सङ्ख्यामा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार दर्ता भएका उद्योगहरूबाट एक खर्ब ६५ अर्ब लगानी प्रस्ताव भएको छ । चालु आर्थिक वर्षमा प्रस्तावित उद्योगहरू खुलेमा २० हजार १ सय ३७ ले रोजगारी पाउने छन् ।

दर्ता भएका उद्योगमध्ये ३६ वटा ठूला उद्योग रहेका छन् । यस्ता उद्योग यस चालू आवभरिमा ८० वटा दर्ता हुने विभागको आँकलन रहेको थियो । चालू आवको चैत्र मसान्तसम्ममा २७ वटा मझौला उद्योग दर्ता भएका छन् । दर्ता भएका साना उद्योगको २२३ वटा रहेको छ । विभागले चालू आवमा मझौला ८६ र साना २ सय वटा उद्योग दर्ता हुने अनुमान गरेको थियो ।

यस अवधिमा उद्योग विभागबाट २६९ वटाका लागि विदेशी लगानी स्वीकृति भएका छ । कुल विदेशी लगानी प्रस्ताव ३० अर्ब १० करोड रहेको छ । जसमा चालु आर्थिक वर्षको वार्षिक लक्ष्य ३८ अर्ब रहेको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा प्याटेन्ट दर्ता सङ्ख्या २ रहेको छ । डिजाइन दर्ता सङ्ख्या ७ रहेको छ । जसमा चालु आर्थिक वर्षमा ट्रेडमार्क दर्ता सङ्ख्या ४ हजार २०९ छ ।

त्यस्तै, चैत्र महिनामा मात्रै स्वदेशी र विदेशी गरि कुल २८ वटा उद्योग दर्ता भएको छ । यी उद्योगहरूका लागि कुल लगानी १० अर्ब ५९ करोड रहेको छ । यी उद्योग सञ्चालनमा आएमा एक हजार ९८४ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *