‘सहकारी ठग’लाई राज्यबाटै संरक्षण भयो
नेकपा (एमाले)का नेता भीम रावलले ‘सहकारीका ठगसहित तस्कर, भ्रष्टाचारी र कमिसनखोर’लाई राज्यले संरक्षण गरेको आरोप लगाएका छन् । आइतबार समाजिक सञ्जालमार्फत नेता रावलले सत्ताको ‘दलालीकरण’ भएको टिप्पणी गरेका छन् ।
“सिद्धान्तहीन, अनैतिक, भ्रष्टाचारी, कमिसनखोर, तस्कर, गुन्डा, सुदखोर, ठग (सहकारीमा समेत), चाटुकार, विदेशीका पिठ्ठु, दलाल, विचौलिया, घुसखोर र अयोग्यहरूलाई राजनीतिक दल र राज्यको संरक्षण हुनु तर देशभक्तिको भावनाबाट राष्ट्रिय हित र सुरक्षामा केन्द्रित नहुनु आज देशको गम्भीर समस्या हो,” रावलले लेखेका छन् ।
नेता रावलले सुदूरपश्चिम सरकार निर्माणमा देखिएको विकृतिबारे पनि टिप्पणी गरेका छन् । उनले कोसीपछि सुदूरपश्चिममा सत्ताको विकृत खेल सुरु भएको बताएका छन् । यही अवस्थाले संघीयताको औचित्य नै घटाएको उनको भनाइ छ ।
“कोसी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन ! ) संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ,” रावलले लेखेका छन्, “यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै अौचित्य छैन ।”