गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्छ
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने जिकिर गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
गठबन्धनभित्रका ‘तमासा’ आफूहरूले देखिरहेको उनको टिप्पणी छ । सत्ता गठबन्धनका कारण मुलुक चौतर्फी संकटतर्फ गइरहेको उनले जिकिर गरे । शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको उनको भनाइ छ ।
उनले समाजको अग्रगतिका निम्ति अहिलेको गठबन्धन प्रमुख बाधक भएको आरोप लगाए । वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित नभएको उनले उल्लेख गरे । सो गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने उनको ठहर छ ।“गठबन्धनभित्रका तमासाहरू हामी देखिरहेका छौँ । त्यो कुन रूपमा विकसित हुन्छ, हेरिरहेका छौँ । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ,” उनले भने, “यो गठबन्धन आफैँभित्रका समस्याहरूले, अन्तरविरोधले चर्मराइरहेको छ । कुनै पनि बेला टुट्न, फुट्न सक्छ ।