किसानले सरकार ढाल्ने क्षमता राख्छन्, होसियार रहनुहोला
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य किसानले सरकार ढाल्ने क्षमता राख्ने भएकाले होसियार रहन चेतावनी दिएका छन्।’मेरो निर्वाचन क्षेत्र र देशैभरका दूध किसान र मह किसान मारमा परेका छन्। दूध पोखेर बसिरहेका छन् भने अर्कातिर पाउडर दूध र विदेशबाट आयातित नक्कली महले स्थान पाएका छन्। किसानहरूको आन्दोलनलाई नजरअन्दाज गरियो भने किसानहरूले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्। होशियार रहनुहोला,’ बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले भने।
लामिछानेले भूमिहीन सुकुम्बासीहरूलाई चुनावी फन्डाका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरिएको भन्दै त्यसलाई चुनावी फन्डा मात्रै नबनाउन आग्रह गरे। उनले सुकुम्बासी आयोग र विशेषगरी भूमि आयोगले विशेष ध्यान दिनुपर्ने बताए। यसलाई खेलाँचीको रुपमा नलियोस् भन्ने उनको आग्रह थियो।त्यस्तै, उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको भन्दै भरतपुर- ३ को नगर वनको विकल्प यथाशीघ्र खोज्न आग्रह गरे।
मिटरब्याज पीडितहरू २३ दिन लगाएर काठमाडौं आएको भन्दै उनीहरूसँग वार्ता गर्न सरकारलाई आग्रह गरे। ‘सिंहदरबारले वार्ताका लागि ढोका खोलोस्, ढोका नथुनोस्,’ उनले भने।