महासमितिमा पेश हुने प्रतिवेदनमा गठबन्धनको छाँया देखियो
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकमा पेश गरिने प्रस्तावमाथि १६ बुँदे धारणा राखेका छन्।
केन्द्रीय समिति बैठकमा कोइरालाले आफ्ना सुझावसहित धारणा राख्दै महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको उल्लेख गरेका हुन् ।
‘महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो ।महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन’ नेता कोइरालाले उल्लेख गरे ।
साथै उनले कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताए। कुनै पनि दलको बहुमत आउन नसक्ने निर्वाचन प्रणाली फेर्न कांग्रेसले पहल गर्नुपर्ने कोइरालाको भनाइ छ ।