सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा, एक नेपालीको भागमा ८२ हजार ऋण
चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिना (साउन–माघ) सम्म नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा पुगेको छ। सो अवधिमा मात्रै सरकारले २ खर्ब २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ सार्वजनिक ऋण लिएको अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
जसअनुसार देशको कूल सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख पुगेको छ। अहिले देशको आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड ६६ लाख र बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ पुगेको कार्यालयले छ।चालू आर्थिक वर्षको ७ महिनामा सार्वजनिक ऋण ९१ अर्ब ३४ करोडले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म देशको कूल सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो। ७ महिनामा सरकारले ९० अर्ब ९७ करोड १६ लाख आन्तरिक र २० अर्ब १२ करोड ८६ लाख रुपैयाँ वाह्य गरी कुल १ खर्ब ११ अर्ब १० करोड २ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ।
यस्तै ७ महिनामा सरकारले १ खर्ब ५० अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ। ७ महिनाको अवधिमा ५२ अर्ब १२ करोड ६० लाख रुपैयाँ बाह्य ऋण उठाएको कार्यालयको तथ्यांक छ। सोहीकारण २ खर्ब नयाँ ऋण लिँदा पनि ऋणको वृद्धि भने ९१ अर्ब रुपैयाँमात्र भएको हो।
सरकारले चालू आर्थिक वर्षको ७ महिनामा १ खर्ब ५५ अर्ब रुपैयाँ कूल ऋणको साँवा/ब्याज भुक्तानी गरेको छ। जसमध्ये १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ आन्तरिक ऋणको साँवा/ब्याज हो। ९० अर्ब ९७ करोड १६ लाख आन्तरिक ऋणको साँवा र ३९ अर्ब १४ करोड ५१ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ। बाह्य ऋणतर्फ २५ अर्ब १३ करोड ५ लाख भुक्तानी भएको छ। यसमध्ये २० अर्ब १२ करोड साँवा र ५ अर्ब रुपैयाँ ब्याज भुक्तानीमा खर्च गरेको कायालयले जनाएको छ।
एक नेपालीको टाउकोमा झण्डै ८२ हजार ऋण
चालू आर्थिक वर्षको ७ महिनाको सार्वजनिक २४ खर्ब हाराहारीमा पुगेको छ। नेपालको कूल जनसंख्याको हिसाबमा सार्वजनिक ऋणलाई भाग लगाउने हो भने एक नेपालीको भागमा ऋणको हिस्सा ८१ हजार ७ सय ५९ रुपैयाँ ८४ पैसा पुगेको तथ्यांकले देखाउँछ। २०७८ सालको जनगणना अनुसार हिसाब नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ।
यस्तै चालू आर्थिक वर्षको ७ महिनामा नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.३६ प्रतिशत पुगेको छ। नेपालसँग जीडीपीको ५० प्रतिशतसम्मको सार्वजनिक ऋणको भार थेग्न सक्ने क्षमता रहेको सरोकारवाला बताउँछन्।