गठबन्धनले भ्रष्टाचार बढायो, प्रत्यक्ष निर्वाचनबाट कार्यकारी चुन्ने व्यवस्था गरौँ
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य (सांसद) जितेन्द्रनारायण देवले देशको प्रमुख कार्यकारी व्यक्ति प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्थामा जानुपर्ने बताएका छन्। अहिलेको शासकीय स्वरुपले गठबन्धन गर्नुपरिररहेको र गठबन्धनले भ्रष्टाचार बढाएको देवको भनाइ छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको उनको भनाइ छ। पूर्व मन्त्री समेत रहेका देवले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए। उनले आजको राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको बताए। व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै उनले सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको बताए।