दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
एथलेटिक्सका दीपक अधिकारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुष वर्ष खेलाडी घोषि भएका हुन् ।
उनले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । दीपक १६ औं एशियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् ।यस्तै एथलेटिक्स कै राजपुरा पछाई महिला वर्ष खेलाडी घोषित भएकी छन् । उनले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले दीपकलाई अवार्ड प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए ।
यस्तै टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए ।
यस्तै युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । खनालले २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एशिया छनोटको उपाधि जित्न सफल भएको थियो ।