क्यानडाविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल
नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्ता रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो।
क्यानडालाई हराउन कसिलो बलिङ गर्दै नेपालका लागि कप्तान पौडेलले चार विकेट लिए। नेपालले गुमाइसकेको खेललाई कप्तान पौडेलले जितको दिशामा फर्काएका थिए। ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफले एक एक विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेले ६२ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए।
यस्तै आरिफ सेख ३८, सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७, पवन सर्राफ १५ र सूर्य तामाङ १० रन मा समेटिएका थिए। क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालका सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरे।