घनश्याम भुसालको प्रश्न- पार्टी र नेता सफल हुँदा देश किन असफल?
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टी र नेताहरू सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक दलहरूले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश असफल भइरहेको बताए ।
“…राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ ? सबै पार्टी सफल भइराख्ने,” उनले भने, “कांग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने । अनि, देशचाहिँ असफल हुने ?”
नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको उनले उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास र पात्रहरूमा समस्या भएको उनको भनाइ छ ।
“…नेताचाहिँ सफल भइराख्ने, देशचाहिँ असफल भइराख्ने । पार्टीचाहिँ सफल हुने यो अन्तरविरोध कहाँ हो ? के हो ? संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन,” उनले भने, “त्यसको अभ्यासमा समस्या छन् । त्यसको विचार र पात्रहरूमा समस्या छन् ।”