सुपर सिक्समा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित
आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ ।
बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशको जितमा अरिफुल इस्लामले अविजित ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जिसान आलमले ४३ बलमा ६ चौका र दुई छक्कासहित ५५ रन थपे । असिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ र अहरार अमिनले १२ रन जोडे ।
नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले लिए । आठ ओभर बलिङ गरेको सुवासले ४४ रन खर्चिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।