सुनकाण्डमा मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ विरुद्ध मुद्दा


जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विभिन्न आर्थिक अपराधमा मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध हालसम्मकै ठूलो बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

सुन तस्करी, हुण्डी, क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा सञ्‍चालनजस्ता अपराधमा संलग्न भनिएका पोद्दारसहित विरुद्ध आज (मंगलबार) काठमाडौं जिल्ला अदालतमा संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको हो ।व्यवसायी पोद्दार ३३ किलो सुन प्रकरणमा समेत मुछिएका थिए । सुन तस्करी प्रकरण र अन्य आर्थिक अपराधबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सरकारी वकिल कार्यालयलाई रायसहितको प्रतिवदेन पेश गरेको थियो । सोही प्रतिवेदन आधारमा १७ जनाविरुद्ध आज मुद्दा दायर भएको हो ।

मुद्दा चलाइएकामध्ये व्यवसायी रूपेश श्रेष्ठ हुण्डी र अनलाइन जुवा सञ्‍चालन गरेको आरोपमा म‌सिर ६ गते पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दै जाँदा सीआइबीले पोद्दारसहितको संलग्नतामा हालसम्मकै ठूलो हुण्डी र क्रिप्टो कारोबार भएको तथ्य पत्ता लगाएको थियो ।

यो प्रकरणमा रूपेशका भाई दीपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा पक्राउ परिसकेका छन्‌ । रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ फरार छन्‌ । उनीहरू सबैलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगो माग गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *