हिउँदे अधिवेशन माघ तेस्रो साता बोलाउने सरकारको तयारी
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय संसद्को अधिवेशन बोलाउने मितिबारे जानकारी दिएकी हुन्।
शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, (प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताइन्। उनले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन्। ‘आउने अधिवेशन (संघीय संसद्को हिउँदे अधिवेशन) माघको १८ वा २० तिरबाट सुरु हुन्छ,’ मन्त्री शर्माले भनिन्।यसअघि संघीय संसद्को बजेट अधिवेशन १८० दिन चलेको थियो। २०८० वैशाख २४ गतेदेखि सुरु भएको अधिवेशन २०८० कात्तिक १६ गतेसम्म चलेको थियो।