पराजितको उमेदवारी व्यवस्थामाथिकै प्रहार : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा पराजितले राष्ट्रियसभा सदस्यमा उमेदवारी दिएकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत व्यक्तिलाई राष्ट्रियसभाको उमेदवार बनाइएकामा उनले आक्रोश व्यक्त गरेका हुन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कार्य रोक्नुपर्नेमा जोड दिए ।सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिट बेस (योग्यता)का आधारमा पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव गरे । संवैधानिक परिषद् सदस्यहरूको नियुक्ति पनि मेरिट बेसका आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको माग छ ।“…गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेरि, व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेरि यहाँ (अरू दलका सांसद)हरूले गर्ने प्रतिवाद खोइ त ? त्यसकारण कानुनमा, उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ,” उनले भने, “मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, कहिले बैठक राख्ने भनेर उपस्थित पनि हुन्छ । र एक दिन पनि रिक्त हुँदैन । यो सेलेक्सनको विधि भनेको विश्वव्यापी मान्यता हो ।”त्यसतर्फ अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको ‘हाइज्याक’लाई रोक्न नसकिने उनले बताए ।