तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा वर्गिकरण गर्ने अन्तिम तयारी


तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा वर्गीकरण गर्ने तयारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरिदिन आग्रह गरेका हुन् ।

होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिने भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकता दिँदै उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको हो । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई उड्यन समितिका सभापति देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको बताए । उनले यस्ता महत्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरे ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रायले मन्त्रीस्तरिय निर्णय गर्दै पर्यटन मुलक क्षेत्रमा रहेको ठूला तारे होटललाई औद्योगिक व्यवसाय ऐन २०७६ अनुरुप राष्ट्रिय मान्यता प्राप्त उद्योगको रूपमा वर्गीकरण गरिने भन्दै कानुन मन्त्रालय, अर्थ र उद्योग मन्त्रालयसँग राय माग गरेको थियो । सोही अनुरुप उद्योग मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सहमति प्रदान गरिसकेको छ भने अर्थले पनि राय पठाउने तयारी गरेको छ ।

यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरूले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजिकरण गरिदिन समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *